सार्वजनिक सवारीसाधनको अभाव: मतदान गर्न पहाड जाने यात्रुलाई समस्या


लेखक : लेखापढी      २९ बैशाख २०७९, बिहीबार १६:२५ मा प्रकाशित     
सार्वजनिक सवारीसाधनको अभाव: मतदान गर्न पहाड जाने यात्रुलाई समस्या

कैलाली- कैलालीमा सार्वजनिक सवारी अभावका कारण मतदाता आफ्नो निर्वाचन क्षेत्रमा जानबाट वञ्चित हुन थालेका छन् । मतदानकै लागि भारतबाट आएका सयौ यात्रु धनगढीमा अलपत्र परेका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मंगलबार र बुधबार पहाडी क्षेत्रमा जाने सवारीको चाप अन्य समयको भन्दा बढेको छ । नियमित सवारी बाहेक अतिरिक्त सवारी मार्फत पनि यात्रुहरू आ–आफ्नो गन्तव्य तर्फ जान थालेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । केही यात्रुले भने सवारी नपाएर अत्तरिया बसपार्कमा लामो समय बस्नु पर्ने समस्या रहेको जनाइएको छ । यातायात व्यवसायीका अनुसार मतदाता अन्तिम समयमा मात्रै धनगढी छाड्न थालेका र उम्मेदवारहरूले केही सार्वजनिक सवारीका साधनलाई बुकिङ गरेर लगेका कारण सर्वसाधारणका लागि सार्वजनिक यातायातको अभाव हुन थालेको हो ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाका अनुसार यात्रुको चाप धेरै बढेको साथै अन्तिम समयमा मात्र गन्तव्यमा जान खोजेकोले ब्यबस्थापन गर्न कठिनाई भएको बताए । व्यवसायी र दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग अन्तिम समयमा मात्रै आ–आफ्नो मतदान स्थल जान थालेका उनले बताए । ‘भारतबाट पनि अन्तिम समयमा मात्रै मतदाता भित्रिए,’ काठमाडौँ तथा भारत लगायत धेरै ठाउबाट अन्तिम समयमा  धेरै मानिस आए एकैपटक धेरै मानिस आउँदा अहिले धनगढीमा सार्वजनिक यातायातका साधनको अभाव भएको हो ।

चुनावी समयमा उम्मेदवारले समेत धेरै सवारी बुकिङ गरेर राखेका कारण यस्तो समस्या भएको अध्यक्ष सापकोटा बताउँछन् । उनले यात्रुको चाप बढेका थप अतिरिक्त सवारीको व्यवस्था गर्न सकिने समेत सापकोटाले बताए ।