नव बर्ष तिमी…


नव बर्ष तिमी…

रघुबीर चन्द

नव बर्ष तिमी यहाँ डाक्टर बनी आउ ।
कोरोनाको शल्यक्रिया गर्ने गरी आउ ।।

नव बर्ष तिमि आयौ स्वागत पाउने गरी आउ ।
भय त्रास जति सबै पार लगाउन आउ ।।
मनग्गे छन आशंका भारी तिमी सामु बिसाउन ।
आतुर छौं हामी यहाँ माया मोह मिसाउन ।।

पुस्तौं देखि सहेका छौं उराठिलो चैते हुरी ।
लथालिङ्ग हुन नदेउ आदर्शको हाम्रो दुरी ।।
नव वर्ष तिमी यहाँ डाक्टर बनी आउ ।
कोरोनाको शल्यक्रिया गर्ने गरी आउ ।।

बवण्डर र गडगडाहटले सबको हंस हल्लाएको छ।
दिनको चैन रातको नींद हराम गरी रमाएको छ ।।
आफन्तको प्रेम छिमेकीको निकटता सपना जस्तै बनाएको छ ।
मानव मन उथलपुथल गरी घरभित्रै सबलाइ हुलेको छ ।।

विश्व युद्धको कहर काट्दा महसुस भइन यस्तो आपद ।
गर्नै खोज्यो यो धूर्तले जगमा ठुलो महाभारत ।।
संसार नै अत्तालियो जताततै यसका कथा ।
ल्याइ डोब निकासको हटाइ देउ सबका ब्यथा ।।

दुनियाँ अरू सबै बिर्स्यो केवल नजर यसैमा छ।
न अत्तो छ न पत्तो छ न कसैको वशैमा छ ।।
नव बर्ष तिमी यहाँ डाक्टर बनी आउ ।
कोरोनाको शल्य क्रिया गर्ने गरी आउ ।।

नव बर्ष तिमी यहाँ डाक्टर बनी आउ ।
कोरोनाको शल्यक्रिया गर्ने गरी आउ ।।

बेदकोट -३ कन्चनपुर