श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले देश छोडेको भन्नेबारे के भन्छन् छोरा ?


लेखक : लेखापढी      २८ बैशाख २०७९, बुधबार १०:०७ मा प्रकाशित     
श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले देश छोडेको भन्नेबारे के भन्छन् छोरा ?

काठमाडौं। श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि आन्दोलनमा हिंसा बढ्दै गएको छ । यसैबीच महिन्दा राजपाक्षेको परिवार देश छाडेर गएको अड्कलबाजी सुरु भएको थियो तर मंगलबार उनका छोराले आफ्नो परिवार श्रीलङ्कामा रहेको र देश नछोड्ने बताए ।

महिन्दा राजापाक्षका छोरा तथा देशका खेलकुद मन्त्री नमल राजापाक्षेले एएफपी समाचार एजेन्सीलाई भने, राजापाक्षे परिवारको देश छोड्ने कुनै योजना छैन । हामी देश छोडेर भाग्न लागेका छौँ भनेर धेरै किसिमका हल्ला फैलिए तर हामी देश छोड्ने छैनौँ ।

अज्ञात सेनाको बेसमा शरण लिइरहेका महिन्दा राजापाक्षेबारे उनका छोराले बुवा सकुशल रहेको र परिवारसँग निरन्तर सम्पर्कमा रहेको बताए ।

महिन्दा राजपाक्षे परिवारसहित देश छोडेर भारत आएका भनिएको थियो, यो दाबीलाई श्रीलङ्कास्थित भारतीय उच्चायोगले खारेज गर्दै ट्वीट गरेको थियो ।

भारतीय उच्चायोगले लेखेको छ, उच्चायोगले केही राजनीतिक व्यक्ति र उनीहरुका परिवार श्रीलङ्काबाट भागेर भारत गएको हल्ला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको थाहा पाएको छ । यी झुटा र मनगढन्ते रिपोर्ट हुन्, जसमा कुनै सत्यता छैन । उच्च आयोगले यसलाई कडाइका साथ अस्वीकार गर्दछ ।

महिन्दा राजापाक्षे श्रीलङ्काको राजनीतिक राजपाक्षे परिवारका प्रमुख हुन् । यस परिवारको विरुद्ध देशमा चर्को विरोध भइरहेको छ । श्रीलङ्का सन् १९४८ मा आफ्नो स्वतन्त्रता पछिकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ र आन्दोलनकारी जनताले देशको दुर्दशाको लागि राजापाक्षे परिवार जिम्मेवार रहेको विश्वास गर्छन् ।

सोमबार उनको राजीनामा पछि, महिन्दा राजापाक्षको निवासलाई क्रोधित प्रदर्शनकारीहरूले घेरेका थिए, त्यसपछि सेनाले उनलाई र उनको परिवारलाई सुरक्षित रूपमा नौसेनाको एउटा बेसमा पुर्याए ।

कडा सुरक्षाको बीचमा उनी परिवारसहित सेनाको बेसमा बस्दै आएका छन् ।

मंगलबार, श्रीलङ्कामा एक महिना लामो शान्तिपूर्ण प्रदर्शन हिंसात्मक भयो । राजापाक्षे परिवारका समर्थकहरूले उनीहरूविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरूलाई आक्रमण गर्न थालेपछि प्रदर्शनले यस्तो रुप लिएको हो ।

त्यसपछि आक्रोशित आन्दोलनकारीले सरकारका मन्त्रीहरुको निवासमा आगजनी र आक्रमण गरेका थिए । त्यसपछि मंगलबार साँझ देशको रक्षा मन्त्रालयले हिंसा र आगजनी गर्नेलाई देखेमा गोली हान्न आदेश दिएको थियो ।

एएफपी