ललितपुरमा सुरक्षा खतराको आंकलन, यस्तो छ चुनावी सुरक्षाको व्यवस्था


लेखक : लेखापढी      २७ बैशाख २०७९, मंगलवार १६:५५ मा प्रकाशित     
ललितपुरमा सुरक्षा खतराको आंकलन, यस्तो छ चुनावी सुरक्षाको व्यवस्था

ललितपुर। उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा सुरक्षा खतरा बढी रहेको आकलन गरिएको छ । यसअघिका चुनाव र भौगोलिक विकटताका कारण यहाँ हरेक पालिकामा प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा प्रहरी परिचालन हुने भएका छन् ।

जिल्लामा अपुग भएका डीएसपी उपत्यका प्रहरी कार्यालयबाट मगाइएको छ । यहाँ धेरै भएका जवान र हवल्दार अन्यत्र पठाएर डीएसपीसहित जुनियर अधिकृतहरु मगाइएको छ ।

अहिले जिल्लाका सबै पालिकामा डीएसपीको कमान्डमा टोली खटिएको छ । पालिकामा रहेर कमान्ड तथा संयोजन डीएसपीले गर्नेछन् । मोबाइल टोलीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) रहने ललितपुरका प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

ललितपुरका लागि १ हजार १ सय २५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादीसहित डीएसपीको कमान्डमा गत शनिबारदेखि नै सबै पालिकामा प्रहरी परिचालन गरिसकिएको छ ।

सबै गाउँपालिकामा प्रहरीका ३ वटा र सशस्त्र प्रहरीका २ वटा मोबाइल टोली रहनेछन् । नगरपालिकामा २ वटा मोबाइल टोली प्रहरीका र ३ वटा सशस्त्र प्रहरीका टोली गस्तीमा रहनेछन् । सबै मतदान केन्द्रलाई कभर गर्ने गरी परिचालन गरिएको प्रहरी बरिष्ठ उपरीक्षक (एसपी) शाहले बताए ।

ललितपुर महानगरपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४/४ वटा मोबाइल टोली रहनेछन् । एउटा स्ट्राइकिङ टोली हुनेछ भने हरेक बुथमा हतियारसहितका प्रहरी हुनेछन् । साथै हरेक पालिकामा नेपाली सेनाका सेनानी (मेजर)को कमान्डमा सैनिक समेत हुनेछन् ।