मौन अवधिमा के-के गर्न हुँदैन ?


लेखक : लेखापढी      २७ बैशाख २०७९, मंगलवार ०८:२१ मा प्रकाशित     
मौन अवधिमा के-के गर्न हुँदैन ?

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि आज (मंगलबार) मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलका भ्रातृ संठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्ने निर्वाचन आयगले जनाएको छ ।

मौन अवधिमा के-के गर्न हुँदैन ?

मौन अवधिभर निर्वाचन प्रचार-प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न पाइँदैन ।

मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री मौन अवधि सुरु हुनुभन्दा अघि नै हटाउनुपर्छ ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार-प्रसार गर्न पाइँदैन ।

अनलाइन, छापा, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार-प्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन पाइँदैन ।

निर्वाचन आयोगले मौन अवधि सुरु भएदेखि मतदान सम्पन्न नभएसम्म मदिरा बिक्रीवितरण र सेवनमा समेत रोक लगाएको छ ।