आजदेखि राष्ट्रिय परिचयपत्रको छपाइ सुरु


लेखक : लेखापढी      २६ बैशाख २०७९, सोमबार १८:२२ मा प्रकाशित     
आजदेखि राष्ट्रिय परिचयपत्रको छपाइ सुरु

काठमाडौं। सरकारले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागको सिंहदरबारस्थित कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले परिचयपत्र छपाइ सुरु गरेका हुन् ।

विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचय पत्रको कार्ड ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया सुरु गरेको हो । विभागका महानिर्देशक तिर्थप्रसाद भट्टराईका अनुसार ३१ लाख ४७ हजार कार्ड आइपुगेको छ भने ८ लाख आउने क्रममा छ ।

मेसिनले घण्टामा ११ सय कार्ड छाप्छ । विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६ सय ४२ जनाको आवेदन लिएको छ ।

विभागले हालसम्म देशका ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ भने १४ वटा जिल्लामा अहिले पनि परिचयपत्रको अभियान सञ्चालन गरिरहेको छ ।