राजनीति समाज सेवा हो, जनताको सेवा गर्न उम्मेदवारी दिएको हुँ : कर्ण बहादुर दर्लामी


लेखक : लेखापढी      २५ बैशाख २०७९, आईतवार १३:१० मा प्रकाशित     
राजनीति समाज सेवा हो, जनताको सेवा गर्न उम्मेदवारी दिएको हुँ : कर्ण बहादुर दर्लामी

सुर्खेत/सिम्ता। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिबेला शहरमात्र होईन देशका कुना-कन्दरा गाउँमा समेत निकै गर्मागर्मी छाएको छ । त्यसैले पनि होला सुर्खेतको पुर्वी क्षेत्र सिम्ता गाउँपालिकालाई चुनावी रौनकले नछुने कुरै भएन । एमालेको गढनै मानिने सिम्ताको खानिखोला यतिबेला गाउँपालिकाको वडानम्बर ९ मा परिणत भएको छ ।

जुन वडाको वडाअध्यक्षमा स्कुले जीवनदेखि नै राजनीतिलाई नजिकबाट बुझेका समाजसेवी र शिक्षासेवीको पहिचान समेत बनाएका कर्ण बहादुर दर्लामीले नेकपा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिएका छन् । लामो समय राजनीति गरियो र बुझियो, यहि जन्मिए, यहि गाउँको सेवा गर्ने उदेश्यले यो पटक वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । राजनीतिलाई सेवाको रुपमा लिने गरेको छु । त्यसैले जनताको सेवक बन्न समेत यो पटक मेरो उम्मेदवारी परेको हो । अवस्य ९ नम्बर वडावासीले जिताउनुहुने छ भन्ने बिस्वास लिएको छु, चुनावी घरदैलो कार्यक्रममा जुटेका दर्लामी भन्छन् ।

चर्चाका हिसाबले शहरमा धेरै चुनावी माहोल देखिएपनि तुलनात्मकरुपमा हेर्दा गाउँ-गाउँमा पनि चुनावको रौनक कम्ता लागेको छैन । २०७४ को निर्वाचनमा नेकपा एमाले नै सिम्ता गाउँपालिका हाँकेको थियो । यसपटक पनि गाउँपालिका नेकपा एमालेकै पक्षमा पर्ने अनुमान गरिएको छ । नेकपा एमालेका तर्फबाट गाउँपालिकाको अध्यक्षमा ऐन बहादुर चन्दले उम्मेदवारी दिएका छन् ।

समाजसेवालाई आफ्नो कर्म ठान्ने, आफ्नो गाउँ छिमेकमा मात्र नभइ गाउँपालिका क्षेत्रमै हुने कुनैपनि सामाजिक कार्यमा अग्रस्थानमा रहने कर्ण बहादुर दर्लामीले लामो समय आफै पढेको स्कुल हिमालय उच्च माबि चोल्पाको सञ्चालक समितिको अध्यक्ष समेत बनेर शिक्षा क्षेत्रमा योगदान पुर्याएका छन् ।