नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक


लेखक : लेखापढी      २४ बैशाख २०७९, शनिबार १५:१० मा प्रकाशित     
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । 

मस्कटका रुपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ । सुयोग्यराज काफ्लेले तयार परोको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको छ । लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र नारालाई १० हजार नगदबाट पुरस्कृत गरियो  । 

राखेपका बोर्ड एवं कार्यकारी समिति सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो । छनोट भएको लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पारेका हुन् ।   लोगोमा माछापुछ्रे  हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।   

कार्यक्रममा मन्त्री गहतराजले गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदलाई भव्यरुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक छलफल गरेको जानकारी दिए । यो वर्ष निर्वाचनको वर्ष भए पनि खेलकुद प्रतियोगिताको आयोजनामा कुनै कमी हुन नदिने उनको भनाइ छ । 

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ । विभिन्न ३६ खेलमा ११ टिम सहभागी हुनेछन् ।