ओलीको पार्टीलाई जिताएर के पाउनुहुन्छ ?- देउवा


लेखक : लेखापढी      २४ बैशाख २०७९, शनिबार १५:५१ मा प्रकाशित     
ओलीको पार्टीलाई जिताएर के पाउनुहुन्छ ?- देउवा

बुटवल- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विना गठबन्धन मुलुकको विकाससमेत सम्भव नभएको बताए ।

“संविधान, लोकतन्त्र र स्थायित्वका लागि पनि गठबन्धन जोगाउन आवश्यक छ, गठबन्धनकै एजेन्डा कांग्रेस महाधिवेशनले स्वीकार गरेको हो,” सभापती देउवाले भने । गठबन्धन देशको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । कांग्रेसको नेतृत्वमा गठन भएको पाँच दलीय गठबन्धनलाई टिकाउन पनि आफूहरुले अगाडि सारेका उमेदवारलाई जिताउन आवश्यक रहेको उनको भनाइ छ । 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षका लागि पाएको जनमत आफैंले सुरक्षा गर्न नसकेको बताए । उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको उल्लेख गर्दै ओलीले संसदमा विरोध सहन नसकेको बताए । 

“प्रधानमन्त्रीले संसद विघटन गर्न पाउदैन । ‘ओलीजीको पार्टीलाई जिताएर के पाउनुहुन्छ ?” उनले प्रश्न गरे ।
 
अदालतले संसद पुर्नस्थापना गरेपछि पनि ओलीले संसद चल्न नदिएको प्रधानमन्त्री देउवाको आरोप छ । उनले ओलीको गलत प्रवृत्ति, संविधान, लोकतन्त्र, शान्ति र स्थायित्वको लागि गठबन्धन गरिएको बताए ।