गठबन्धन टालाटुली बटुली पुतलीजस्तो, सरकारमा बाँडीचुडी खान गठबन्धन : ओली


गठबन्धन टालाटुली बटुली पुतलीजस्तो, सरकारमा बाँडीचुडी खान गठबन्धन : ओली

इटहरी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडामा समेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको  बताए । सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ । ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस’, उनले भने । शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गरेका छन् । 

सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखेका ओलीले खाएर, चुसेर ढfडिएकाहरुले गठबन्धन  गरेको टिप्पणी गरे । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई उनले कांग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी भएको आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए ।