१९ औं एसियाली खेलकुद (एसियाड) स्थगित


लेखक : लेखापढी      २३ बैशाख २०७९, शुक्रबार १४:१० मा प्रकाशित     
१९ औं एसियाली खेलकुद (एसियाड) स्थगित

काठमाडौं- १९ औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ । चीनको होङझोउ सहरमा सेप्टेम्बरका लागि निर्धारण गरिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको हो । ओलम्पिक काउन्सिल अफ एसियाले शुक्रबार सूचना जारी गर्दै आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ।

खेलकुद स्थगितको कारण नखुलाइए पनि हाल चीनमा कोरोना संक्रमण बढिरहेको छ। यसै कारण पनि एसियाली खेलकुद स्थगित भएको हुनसक्ने आंकलन गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय थियो। यी खेलका लागि प्रारम्भिक खेलाडी छनोट समेत गरिएको थियो।

एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा नेपालले भाग लिने निर्णय गरेको थियो।