वैशाख ३० गते सार्वजनिक सवारी बन्द हुने


लेखक : लेखापढी      २३ बैशाख २०७९, शुक्रबार ०७:२३ मा प्रकाशित     
वैशाख ३० गते सार्वजनिक सवारी बन्द हुने

काठमाडौं। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन सवारी साधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार पास विनाका सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारलाई आग्रह गरेको छ ।

आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमती पत्र लिनुपर्दैन ।

आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ । अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ ।

यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ ।

यस्तै, अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिईएको छ । पत्रकारहरुको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ ।

मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका ३ दिन बन्द गर्न पनि सरकारलाई पत्र पठाएको छ । वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न आयोगले भनेको हो ।