आइजिपी नियुक्तिमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


लेखक : लेखापढी      २२ बैशाख २०७९, बिहीबार १८:०५ मा प्रकाशित     
आइजिपी नियुक्तिमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार र बिहीबारको सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको थियो । 

वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नवनियुक्त आइजिपी सिंहलाई काम गर्न कुनै बाधा नपर्ने भएको छ ।