भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने


लेखक : लेखापढी      २० बैशाख २०७९, मंगलवार ०८:०७ मा प्रकाशित     
भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी  जेठ २ गते भन्दा अगाडि नेपाल भ्रमणमा जाने भारतीय सरकारले योजना बनाइरहेको भारतीय अखबार द हिन्दूले जनाएको छ ।

स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । उनि बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा सहभागी हुने जनाइएको छ । तर नेपालको तर्फबाट यसबारे कुनै जानकारी दिइएको छैन् । एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए ।

नेपाली र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन् । स्रोतका अनुसार देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए । उनले २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए। नेपाल भ्रमणपछि मोदी जापानको भ्रमणमा जाने कार्यतालिका छ ।