काठमाडौं। सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुलबहादुर थापा भोलि (बुधबार)बाट काममा फर्कने भएका छन् ।
सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँड र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्कने बताएको गृहमन्त्रीका प्रेस सल्लाहकार मधुसुदन भट्टराईले जानकारी दिएका हुन् ।
म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु, अतिरिक्त महानिरीक्षक थापाले भने, मंगलबार सरकारी बिदा छ । बुधबार हाजिर गरेर काम सम्हाल्छु ।
उनी प्रहरीको कार्य विभाग प्रमुख हुन् । कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गरिरहेका छन् ।
त्यस्तै उनले आइतबार आईजीपीमा सिंह नियुक्त भए लगत्तै १० दिनको विदा स्वीकृत गराएका थिए । यता आईजीपीका अर्का अकांक्षी एआईजीपी विश्वराज पोखरेलले पनि १ महिनाको विदा स्वीकृत गराएका हुन् ।
आईजीपीमा सिंहको नियुक्तलाई लिएर रुष्ट पोखरेलले सर्वोच्च अदालतमा रिट समेत दर्ता गराइसकेका छन् ।