रोयटर्स । एलन मस्कले आफूलाई ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्न मद्दत गर्ने बैंकलाई ट्वीटबाटै पैसा कमाउने नयाँ तरिका सिर्जना गराइ कर्जा चुक्ता गर्ने बताएका छन् ।
यसमा उनले कम्पनीको कार्यकारी र बोर्डको तलबमा कटौति गर्ने अनि ट्वीटहरु मार्फत पैसा कमाउन मिल्ने प्रक्रिया स्थापित गराउने बताएका छन् । सोमबार मस्कले प्रति शेयर मूल्य ५४.२० डलरमा कूल ४४ अर्बमा कम्पनी खरिद गरेका छन् । यसैका लागि ऋण सुनिश्चित गराउन उनले बैंकसँग छलफल गरिरहेका थिए । मस्कले बैंकलाई आफूले लिएको कर्जा चुकाउन ट्वीटरबाट पर्याप्त ‘क्यास फ्लो’ हुनेछ भनेर बैंकलाई सहमत गराउनुपर्ने थियो । यसरी उनले १३ अर्ब डलर कर्जा लिएका हुन् भने टेस्ला कम्पनीको स्टक सम्बन्धी पनि १२.५ अर्ब डलरको मार्जिन ऋण लिएका छन् । उनले बाँकी चाहिँ आफ्नै क्यास पैसाले तिर्ने सम्झौता गरेका थिए ।
मस्कले यसअघि नै ट्वीटरका बोर्ड अध्यक्षहरुको तलबमा कटौति गरेर २० लाख डलरको लागत बचत गराउने योजना सार्वजानिक गरेका थिए । त्यस्तै उनले रोजगारीमा कटौति गर्नेबारे पनि उल्लेख गरेको बताइएको छ ।
ट्वीटबाट कमाइ गर्ने सम्बन्धी चाहिँ उनले कुनै तेस्रो पार्टी वेबसाइटले आधिकारिक व्यक्ति वा संगठनबाट कुनै ट्वीट इमबेड गर्न चाहेमा त्यसको अतिरिक्त शुल्क लिन सकिने योजना बैंक सामु पेश गरेको बताइएको छ ।
विज्ञापनमै निर्भर रहने कम्पनीको प्रमुख आम्दानी नीतिमा पनि परिवर्तन ल्याउने उनले यसअघि डिलिट गरिसकेको आफ्नो ट्वीटमा बताएका थिए । यति मात्र नभएर मस्कले ट्वीटरका नयाँ कार्यकारी प्रमुख नियुक्त गर्नेबारे विचार गरिरहेको पनि विभिन्न श्रोतबाट खबर गरिएको छ ।
अघिल्लो हप्ता मात्र मस्कले टेस्लाको ८.५ अर्ब डलर बराबरको शेयर विक्री गरेको जानकारी दिएका थिए ।
१३ अर्ब डलरको ट्वीटर कर्जा भनेको २०२२ मा यसले कमाइ गर्ने प्रक्षेपण गरिएको रकम भन्दा सात गुणा बढी हुन्छ । यसकारण पनि बैंकहरुले यो सम्झौतालाई जोखिमपूर्ण मानिरहेको बताइएको छ । रोयटर्सबाट