आईपीएल क्रिकेट : राजस्थानलाई ५ विकेटले हराउँदै मुम्बईको पहिलो जित


लेखक : लेखापढी      १८ बैशाख २०७९, आईतवार ०७:०५ मा प्रकाशित     
आईपीएल क्रिकेट : राजस्थानलाई ५ विकेटले हराउँदै मुम्बईको पहिलो जित

काठमाडौं। आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । डीवाई पटिल स्टेडियम मुम्बईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए भने तिलक बर्माले ३५ रन बनाए । त्यस्तै इशान किशनले २६, टिम डेविड २० र केरन पोलार्डले १० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए भने आर आश्विनले २१ रन बनाएका थिए ।

यो जितसँगै मुम्बई इन्डियन्स ९औं खेलमा पहिलो जित निकाल्दै २ अंकसहित तालिकाको पुछारमा छ । यता ९ खेलमा ३ पराजय भोगेको राजस्थान १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।