अटेरीको अटेरिपनले पायो “लौरो” चुनाव चिह्न


लेखक : लेखापढी      १७ बैशाख २०७९, शनिबार २०:०२ मा प्रकाशित     
अटेरीको अटेरिपनले पायो “लौरो” चुनाव चिह्न

पोखरा- निर्वाचन आयोगले कास्कीको मतपत्रमा लौरो चुनाव चिह्न प्रदान नगरेपछि पोखरामा प्रदर्शन गरेका थिए । पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार रहेका अटेरी अभियानका संयोजक गनेस पौडेल (खडकराज)सहितले लौरो चिह्न पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए ।

पोखरामा स्वतन्त्र उम्मेदवार सात भए पनि अटेरी समूहले आठौँ लहरमा रहेको चिह्न लौरो पाउनुपर्ने अडान लिँदै प्रदर्शन गरिएको थियो । उनीहरूले आज बिहान लौरो चिह्न रोजे पनि स्वतन्त्र उमेदवारको संख्या सात मात्र भएका कारण मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त चिह्न दिन नसकिने भन्दै उमेदवारलाई जानकारी गराएको थियो । 

सो विषयमा विरोध भएपछि कार्यालयले आयोगमा जानकारी गरायो । आयोगले कास्कीको हकमा लौरो चिह्नसहितको मतपत्र प्रकाशन गर्ने भएपछि उक्त चिह्न उमेदवार खडकराज पौडेल (गनेस)लाई दिइएको कार्यालयका सूचना अधिकारी नील पनेरुले जानकारी दिए ।