नुवाकोटमा रहेको २० हजार घनमिटरको विशाल ढुंगा नेपाली सेनाले टुक्र्याउन सफल


लेखक : लेखापढी      १७ बैशाख २०७९, शनिबार २१:१४ मा प्रकाशित     
नुवाकोटमा रहेको २० हजार घनमिटरको विशाल ढुंगा नेपाली सेनाले टुक्र्याउन सफल

नुवाकोट- नेपाली सेनाले नुवाकोटमा नेगी गाउँको बस्तीमाथि रहेको करिब २० हजार घनमिटरको विशाल ढुंगा ब्लाष्टिङ गरेको छ।

दुप्चेश्वर गाउँपालिका १ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको उक्त ठूलो ढुंगा सेनाले ब्लाष्टिङ गरेसँगै ४७ घरधुरीका २८५ परिवारको जोखिम टरेको छ। सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा कालीभञ्जन गण (ई) बाट खटिएको प्राविधिक टोलीले ब्लास्टिक गरेको बताए। उनकाअनुसार फागुन १४ गतेबाट ब्लाष्टिङ कार्य शुरु गरी वैशाख १५ गते ढुङ्गा व्यवस्थापन सम्पन्न गरिएको हो।

गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङले बस्तीमाथि जोखिम भएकाले सेनाको सहयोगमा ब्लास्टिङ गरिएको बताए। ढुंगाको जोखिम टरे पनि ब्लाष्टिङले जमिन हल्लिएका कारण पहिरोको जोखिम रहेको बताए ।