गर्मीको चपेटामा भारत, तापक्रम थप बढ्ने मौसम विभागको चेतावनी


लेखक : लेखापढी      १७ बैशाख २०७९, शनिबार १०:३९ मा प्रकाशित     
गर्मीको चपेटामा भारत, तापक्रम थप बढ्ने मौसम विभागको चेतावनी

काठमाडौं। भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्यमा अत्यधिक गर्मी बढेको छ । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । तातो हावाका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको मौसम विभागले आगामी चार-पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ । मौसम विभागले पश्चिमी राजस्थान, मध्यप्रदेश लगायतमा केही दिन लू चल्ने चेतावनी समेत दिएको छ ।

बिहार, पश्चिम बंगाल, छत्तिसगढ, गुजरात र महाराष्ट्रमा अझै केही दिन चर्को गर्मीको सामना गर्नुपर्ने बताइएको छ । भारतको दिल्लीमा आज ४४ डिग्री, गुजरातमा ४५ डिग्री, मध्यप्रदेशमा ४३ डिग्री, उत्तराखण्डमा ४० डिग्री तथा उत्तर प्रदेशमा ४४ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको छ ।

कतिपय ठाउँको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लोपटक कोरोना संक्रमण फेरि बढ्दै गएको अवस्थामा अत्यधिक तापक्रम बढ्न थालेपछि भारतीय स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

एजेन्सी