स्वतन्त्र उम्मेदवारलाई दिएको धम्की सह्य नहुने : प्रमुख निर्वाचन आयुक्त


लेखक : लेखापढी      १६ बैशाख २०७९, शुक्रबार १८:५० मा प्रकाशित     
स्वतन्त्र उम्मेदवारलाई दिएको धम्की सह्य नहुने : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  विभिन्न राजनीतिक दलका नेताले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने चेतावनी दिएका छन्  । प्रमुख आयुक्त थपलियाले कुनै पनि किसिमको दबाव, त्रास, प्रलोभन, कुनैपनि किसिमको कारबाहीको धम्की वा शक्तिको प्रयोग गरेर उम्मेदवारमाथि दबाव दिए लोकतन्त्रविरोधि गतिविधि हुने बताए।

शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा  उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पारे ।

उनले भने, ‘आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन छ । यसपछि भोलि सबै छानबिन गरेर हामीले उम्मेदवारको अन्तिम सूचि प्रकाशित गर्नेछौँ । म सुन्दैछु, यसमा पनि डर, त्रास, धाक, धम्की दिएर जबरजस्ती रुपमा उम्मेदवारी फिर्ता दिलाउने किसिमका अभ्यासहरु भइरहेका छन्, उम्मेदवार र उसको परिवारलाई उम्मेदवार भयौ भनेदेखि अलिकति गाह्रो हुन्छ भन्ने किसिमका कुराहरु गरिंदै छन् भन्ने गोप्य सूचना हामीलाई प्राप्त भएको छ, हामीले विज्ञप्ती निकाल्ने छौँ ।’

स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहित, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरुले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले प्रचारप्रसारका सामग्रीहरु बनाउँदा पनि आरोप, प्रत्यारोप र अवाञ्छित गतिविधिका सामग्रीहरु प्रसारण गर्न नहुनेतर्फ पनि सचेत गराए ।

मुख्य निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुले मतपत्र कडा कागजमा छापिएकोले च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न पनि आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाले यसवर्ष आचारसंहीता बनाउँदा पहिलोपटक सामाजिक सञ्जालको नियमन उठाएको र हालसम्मको अध्ययनले समाजिक सञ्जालबाट झनै विकृति सिर्जना भएको पाएको बताए ।

उनले सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी भइरहेका असामाजिक कृत्यलाई निरुत्साहीत गर्न आयोगको अनुरोधअनुसार आयोगको यूट्यूब वा सामाजिक सञ्जालमार्फत आयोगलाई सूचना दिन पनि पर्यवेक्षकहरुलाई अनुरोध गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले पर्यवेक्षकले दिएको सूचनाअनुसार आयोगले कारबाही गर्ने पनि बताए ।