भरतपुरमा कांग्रेस उमेदवार जगन्नाथ पौडेलले उम्मेदवारि फिर्ता लिएनन्, स्वत पार्टीबाट निस्कासन


लेखक : लेखापढी      १६ बैशाख २०७९, शुक्रबार १८:२५ मा प्रकाशित     
भरतपुरमा कांग्रेस उमेदवार जगन्नाथ पौडेलले उम्मेदवारि फिर्ता लिएनन्, स्वत पार्टीबाट निस्कासन

चितवन- नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले समयसीमा सकिँदासम्म पनि आफ्नो उमेदवारी फिर्ता लिएनन् । नेपाली कांग्रेसले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई स्वत पार्टीबाट निस्कासन गरेको छ।

प्रधानमन्त्रीसेमत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायत जिल्ला तहका नेताले गरेको आग्रह अस्वीकार गर्दै पौडेलले आफ्नो उमेदवारी कायमै राखे ।

‘स्थानीय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ। उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’ मुख्यसचिव पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

 पौडेलले आफु चितवन कांग्रेसका कार्यकर्ताको भावनाअनुसार अघि बढेको बताएका छन् । चितवनकै जनताको साथ, सहयोग र भरोसामा अघि बढिरहेकोसमेत बताए ।