मतदानस्थलका लागि भौतिक संरचना उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह


लेखक : लेखापढी      १५ बैशाख २०७९, बिहीबार २२:५५ मा प्रकाशित     
मतदानस्थलका लागि भौतिक संरचना उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपलब्ध गराउन आग्रह गरेको छ । वैशाख २८ गतेदेखि वैशाख ३० सम्म उपलब्ध गराउन नेपाल सरकारमार्फत्  सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय गरेको छ । 

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले नियमित पत्रकार भेटघाटमार्फत् सोमबार सो जानकारी गराएको हो । निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहमालेखी पठाउने निर्णय भएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि २०७९ वैशाख ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेको विद्यालयको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको  छ ।
आयोगका सहायक प्रवक्ता एवं उपसचिव अर्यालद्वारा जारी विज्ञप्तिमा स्थानीय तहनिर्वाचनको मतदान हुने २०७९ वैशाख ३० गते  शुक्रबारका दिन नेपालभर सार्वजनिक विदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताउनुभयो ।

एक लाख ५३ हजार १४५ मनोनयन

निर्वाचन आयोगको प्रणालीमा बिहीबार दिउँसो ७ बजेसम्म प्रविष्ट भएको तथ्याब्कअनुसार १ लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ३ हजार ५१८, अध्यक्षमा ३ हजार ३९२, उपप्रमुखमा २ हजार १७४, उपाध्यक्षमा २ हजार ४०७, वडाअध्यक्ष ३५ हजार ३८०, महिला सदस्य २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ ।
३३ जिल्लामा मतपत्र ढुवानी
वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।
आयोगले स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउन महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारीचालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय गरेको छ ।

सूचनाको प्रबन्ध
आयोगले गत चैत ३० गतेदेखि निर्वाचन आयोग नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रूपमा निर्वाचन आयोगको औपचारिक रूपमा शुरू गरेको भाइबर ग्रुपको प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउने छ । यो प्लेटर्फमको प्रयोग गरी नागरिक र निर्वाचन सरोकारवालाहरूले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् ।
यस समूहमा सामेल हुन http://vb.me/ecn (election commission nepal) लिंक प्रयोग गर्नु पर्नेछ ।