काठमाडौं। वैशाख ३० गते हुने स्थानीय चुनावमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशब स्थापितले आफ्नो श्रीमती नेशनल क्रिष्चियन फेडरेशनको महिला अगुवा रहेको बताएका छन् । उनि देश भर क्रिष्चियन धर्म प्रचारमा हिँड्ने गरेको समेत स्थापितले बताएका छन् । उनले एक टेलिभिजन बहसमा प्रश्नकर्ताहरूको जवाफ दिने क्रममा यस्तो कुरा बताएका हुन् । आफू हिन्दू परम्परामा जन्मेको भएपनि बुद्ध धर्म मान्दै आएको र श्रीमती क्रिष्चियन रहेको बताएका हुन् । मेयरका उम्मेदवार स्थापित धेरै विवादास्पद व्यक्तित्व भएका राजनीतिज्ञ हुन् । उनले नेशनल टेलिभिजनमा बोल्दा समेत होस पुर्याएका छैनन् ।
यहाँ लेख्नै नसकिने शब्द पटक-पटक दोहर्याएका छन् । त्यस्तै अन्य अपाच्य शब्दहरू पनि धेरै पटक प्रयोग गरेपछि कार्यक्रमका सञ्चालकले शब्द चैनमा ध्यान पुर्याउन अनुरोध गर्दै भनेका छन्, स्थापितज्यू यो नेशनल टेलिभिजन हो, शब्द चैनमा ध्यान दिनुहोला ? यति भन्दा समेत स्थापितले अत्यन्तै रफ शैलीमा जबाफहरू दिएका छन् । सहभागीहरूले सोधेको प्रश्नको जवाफ निकै आलटाल गरेर दिएका छन् । अधिकांश प्रश्नको जवाफ चित्त बुझ्दो तरिकाले नदिएका केशब स्थापितलाई सहभागी युवाहरूले अब महानगरको मेयरमा तपाइँलाई पत्याई भोट दिनु पर्ने कुनै कारण छैन समेत भनेका छन् । अत्यन्तै फितलो र कुतर्कका भरमा उनले बहसको समय सकाएका छन् ।
गरिब र दलितलाई होच्याउने खालका शब्द समेत प्रयोग गरेका स्थापितलाई गरिबका निम्ति तपाइँका कुनै योजनै छैनन् ? भन्ने प्रश्नमा पनि जबाफ दिन सकेका छैनन् । फुटपाथ पसल, साईकल मैत्री सडक सञ्जालका कुरा गर्दा चहिंदैन त्यो भनेका छन् । गरिबीलाई उपेक्षा गर्दै ठूला-ठूला महल र व्यापारिक केन्द्रका मात्र कुरा गरेका छन् । उनले स्वतन्त्रबाट मेयरको उमेदवारी दिएका र्यापर तथा इन्जिनियर बालेन शाहलाई समेत होच्याएर बोलेका छन् । को हो त्यो बालेन शाह ? कसैले चिन्दैन, उसको र्याप अहिलेका युवाले बुझ्लान् अरू कसैले बुझ्दैन भनेर युवा पीढीहरूलाई पनि उपेक्षा गरेका छन् । दल व्यवस्था नमान्ने, एउटा पार्टी खोल्ने हैसियत नभएको बालेन शाहसँग के भिजन छ ? र्याप गीत गाएर विकास हुन्छ भन्दै प्रश्न गरेका छन् ।
कृष्णप्रसाद भट्टराईले विद्यादेवी भण्डारीलाई तुच्छ महिला, बिधुवा आईमाई भनेको र आफूले त्यसको प्रतिवाद गरेको भन्दै बहसमा प्रवेश गरेका केशब स्थापितले खासै यो पटक मेयर पदमा आफ्नो दाबेदारीलाई बलियो रूपमा प्रस्तुत गर्न भने सकेनन् । बहसको अधिकांश समय आफ्नै मपाइत्वको बखान गरेर बिताएका छन् । नसा लागेको तरिकामा प्रस्तुत स्थापितले करिब बहसमा पचास प्रतिशत अंग्रेजी भाषाको प्रयोग गरेका छन्, भने नेपालको शिक्षा र नेपाली भाषा-संस्कृतिमा उनको योगदान के रहला भनेर प्रश्न गर्ने थुप्रै ठाउँ दिएर बहस टुंगिएको छ । (समाचार टीप्पणी)