राष्ट्रिय फुटबलका सिनियर खेलाडी रोहित चन्द सहित ९ खेलाडीले प्रशिक्षक अलमुताईरी विरुद्ध बिद्रोह


लेखक : लेखापढी      १४ बैशाख २०७९, बुधबार २०:१५ मा प्रकाशित     
राष्ट्रिय फुटबलका सिनियर खेलाडी रोहित चन्द सहित ९ खेलाडीले प्रशिक्षक अलमुताईरी विरुद्ध बिद्रोह

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी विरुद्ध खेलाडीले बिद्रोह गरेका छन् । 

राष्ट्रिय फुटबल टिमका सिनियर १० जना सिनियर खेलाडीले प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बिद्रोह गरेका हुन् । खेलाडीलाई आफ्नो निहित स्वार्थका लागि प्रयोग गर्ने स्वभावका कारण अलमुताईरी आलोचित थिए । खेलाडीलाई होच्चाउने, देशलाई कमजोर र नकारात्मक तरिकाले प्रस्तुत गर्ने अलमुताइरीको स्वभाव रहदै आएको खेलाडीको गुनासो थियो । 

राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोखेका थिए । प्रशिक्षणको क्रममा राम्रो बस्ने, खाने व्यवस्था नभएको भन्दै उनले प्रशिक्षकसँग गुनासो गरेका थिए । खेलाडीको गुनासोसँगै एन्फाले त्रिपुरेश्वरस्थित एक होटलमा खेलाडीलाई राखेको थियो । खेलाडीले समेत दशरथ रंगशालामा नियमित प्रशिक्षण गर्न थालेका थिए । 

आफुहरुप्रति निकै अनुदार व्यवहार प्रर्दशन गरेको भन्दै खेलाडीले बन्द प्रशिक्षण नै छाडेर हिडेका छन् । एन्फाले आसन्न एसिया कप छनोटका लागि खेलाडीलाई त्रिपुरेश्वरस्थित एक होटलमा राखेको छ । प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिनियर खेलाडीले एन्फालाई जानकारी नै नगराएर प्रशिक्षण छाडेर बाहिरिएका हुन् । 

प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहित चन्दले सुरुवातमा क्याम्पबाट बिदा लिएका थिए । चन्दले बिदा लिदा प्रशिक्षकले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको भन्दै अन्य सिनियर खेलाडीले समेत होटल छाडेर हिडेका छन् । 

एन्फा स्रोतका अनुसार रोहित सहित ९ जना खेलाडीले क्लोज क्याम्प छाडेको पुष्टि गरे । स्रोतका अनुसार विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, बिमल घर्तिमगर लगायतका खेलाडीले होटल छाडेर हिडेका छन् । सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि त्यसको बदलामा अलमुताईरीले जुनियर १४ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् । 

‘सिनियर खेलाडी आएपनि राख्दिन ।’ अलमुताइरीको भनाई उद्धित गर्दै स्रोतले भने, ‘यि खेलाडीले एसिया कप पार लगाउन सक्दैनन् । बरु नयाँ खेलाडीलाई मौका दिएर मेहनत गर्न सिकाउँछु ।’  सिनियर खेलाडी रोहित चन्दका अनुसार प्रशिक्षक अलमुताईरी खेल भन्दा बढि व्यक्तिगत चर्चा बटुल्न माहिर रहेका छन् ।