स्थानीय चुनावका लागि एक लाख ४७ हजार बढीको मनोनयन दर्ता


लेखक : लेखापढी      १३ बैशाख २०७९, मंगलवार १६:३६ मा प्रकाशित     
स्थानीय चुनावका लागि एक लाख ४७ हजार बढीको मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ ।

निर्वाचन आयोगले मंगलबार दिउँसो सवा ३ बजे दिएको अपडेटका अनुसार प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा गरी  १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको हो । 

आयोगले उम्मेदवारी दर्ता गर्न वैशाख ११ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको दिएको थियो। तर दलहरू पहिलो दिन उम्मेदवारी दर्ता गराउन गएनन्। 

स्थानीय निकायमा प्रमुख पदमा मात्रै ३ हजार ४३० जनाको उम्मेदवारी परेको छ। । अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२, वडाध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यमा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९ र सदस्यमा ५३ हजार ४०१ जनाको उम्मेदवारी परेको हो।