यमदूत जस्तो लाग्छ सडकमा हुईँकिने टिप्पर; नियमित अनुगमन खोई ?


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार ०७:२९ मा प्रकाशित     
यमदूत जस्तो लाग्छ सडकमा हुईँकिने टिप्पर; नियमित अनुगमन खोई ?

काठमाडौं। बेलुका ८ बजेपछि कोटेश्वरदेखि जगातीसम्मको सडकखण्डमा ब्रेक नै नभएको जसरी प्रशस्तै टिप्परहरु कुदेको देख्न सकिन्छ । तपाईँलाई उक्त समयमा यो हाइवेमा हिंड्दा पछाडी र दायाँ-बायाँबाट यमराजका दूतहरुले लखेटेको अनुभव हुन्छ ।

हुन पनि रातको समयमा फराकिलो सडक, सवारी चाप कम भएपछि टिफर टिप्परका कलिला ड्राईभरहरुलाई के चाहियो ? आँखा नहेरि नागबेली तालमा, सडकको यो कुनो पनि मेरै त्यो कुनो पनि मेरै भन्दै कुदाउने गर्दछन् । विशेष गरि पूर्वतर्फबाट काठमाडौंमा ढुवानीको सामान ल्याउने र खालि गरेर पूर्व फर्किने टिप्परहरु यो सडकमा कुद्ने गर्दछन् ।

अगाडी केही भाग मुखजस्तो आकारका टिफरहरुले सडकमा धेरै दुर्घटना गराएको ट्राफिक दुर्घटनाको रेकर्डमा उल्लेख छ । तिनै टिप्पर चालकहरु अधिकांश २२/२५ वर्षका अल्लारे युवाहरु छन् । सुरक्षित गन्तव्यमा पुग्नु भन्दापनि प्रतिस्प्रधाको शैलिमा ति टिप्परहरु सडकमा कुदेको जो कसैले देख्न सक्छ । मानौ तिनिहरु सडकका राजा नै हुन् जसरी खुलेआम बल मिच्याईमा सडकमा आफ्नै पारामा कुद्ने गर्दछन् ।

पिकआवरमा यस्ता टिप्परहरुलाई सडकमा कुद्न कडाई गरेपछि ७ बजे बेलुकाबाट फुत्केको हान्ने राँगो सरी कुद्ने गर्दछन् । रातको समयमा सुर्यविनायक, सल्लाघारी, राधे-राधे, कौशलटार, कोटेश्वर सम्म ट्राफिक प्रहरीले गति सिमित गर्न र सवारी चेकजाँच गर्न पोष्ट राखेको भएतापनि ट्राफिक प्रहरीको अगाडी मात्र उनिहरुको गतिमा सुस्तता आउँने गरेको छ ।

यही सडकखण्डमा यस्तै खालका टिफरको ठक्करबाट धेरैले ज्यान गुमाईसक्दा पनि टिफर चालकहरुको चेतनाको कमी र राज्यको सवारी दुर्घटनामा पारि मृत्यु गराएको कसुरमा अभियुक्तलाई हुने सजायको फितलो कानूनले यस्ता चालक र सवारीलाई बल पुगेको छ । ट्राफिक प्रहरीको एक्लो प्रयासमा मात्र यस्ता सवारी र सवारी चालकलाई नियमन गर्न सकिन्न ।


लेखापढ़िका लागि  विवेक चन्द ठकुरीको बिशेष रिपोर्ट का आधारमा तयार