भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल, राप्रपालाई उपमेयर


भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल, राप्रपालाई उपमेयर

चितवन- चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गर्ने भएको छ । राप्रपाका नेता विक्रम पाण्डेले महानगरमा एमालेसँग तालमेल भएको पुष्टि गरेका छन् । त्यसका लागि एमालेले महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी सहमति भएको बुझिएको छ ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति निर्देशन दिएको चितवन एमालेका नेताहरुले बताएका छन् । 

एमालेले तालमेलका लागि हात अघि बढाएपछि राप्रपा उपमेयरसहित वडाअध्यक्षका उम्मेदवार तय गर्न छलफलमा जुटेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालबीच छलफल भइरहेको नेता बिक्रम पाण्डेले बताए । यसअघि माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित भएको भरतपुरमा गठबन्धनका तर्फबाट पुन दाहालले नै टिकट पाएकी छन् । गठबन्धनमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनमोर्चा छन् ।