राष्ट्रपतिबाट विभूषण पाएको १० दिनपछि डेढ लाख घुससहित पक्राउ


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार ११:१४ मा प्रकाशित     
राष्ट्रपतिबाट विभूषण पाएको १० दिनपछि डेढ लाख घुससहित पक्राउ

काठमाडौं: मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरू महतलाई आइतबार घुस सहित रंगेहात पक्राउ गरेको छ।

गत १ वैशाखमा विभूषण प्रदान गरिएको थियो। ३ असोजमा विभूषण दिने निर्णय भएकोमा गत  वैशाख १ गते राष्ट्रपति भण्डारीले उनलाई विभूषित गरेकी थिइन्।  तर, उनले ११ दिन पनि मानपदवीको गरिमा राख्न सकिनन्। सेवाग्राहीलाई दुःख दिएर घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। 

आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले जिल्ला सदरमुकाम फुङलिङबाट उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ की एक सेवाग्राहीको अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता गर्ने कामका लागि मालपोत अधिकृत महतले घुस मागेकी थिइन्। सेवाग्राहीसँग घुस लिएलगत्तै उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।