स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन


स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि ७ सय ५३ वटै पालिकामा उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन हो । पहिलो दिन आइतबार १० हजार भन्दा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय १ दिनमात्रै रहने गरेको थियो ।

सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची सोमवार बेलुकी प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यसूची आयोगले जनाएको छ ।