फ्रान्सको राष्ट्रपतिमा इमानुएल म्याक्रोन निर्वाचित


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार ०७:०४ मा प्रकाशित     
फ्रान्सको राष्ट्रपतिमा इमानुएल म्याक्रोन निर्वाचित

काठमाडौं। फ्रान्सको राष्ट्रपतिमा इमानुएल म्याक्रोन पुनः दोस्रो पटक निर्वाचित भएका छन् । राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा म्याक्रोनले मारिन ले पेनलाई पराजित गरेका हुन् ।

आइतबार सम्पन्न मतदानपछिको प्रारम्भिक अनुमानमा म्याक्रोनले ५८ दशलव ८ प्रतिशत मत प्राप्त गरेका छन् भने उनकी प्रतिद्वन्द्वी मारिन ले पेनले ४१ दशमलव २ प्रतिशत मात्रै मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ले पेनमाथि म्याक्रोनको जित अपेक्षित नै बताइएको थियो ।

च्याम्प डे मार्स पार्क बाहिरको विशाल स्क्रिनमा म्याक्रोनको विजयको खबर बाहिरिएपछि उनका समर्थकहरू जम्मा भएका थिए । समर्थकहरूले एकअर्कालाई अँगालो हालेर र म्याक्रोनको नाममा नारा लगाएर खुसी व्यक्त गरेका थिए ।

म्याक्रोन दुई दशकमा दोस्रो पटक चुनाव जित्ने पहिलो फ्रान्सेली राष्ट्रपति हुन् । तर, दोस्रो पटक यो पद सम्हाल्ने उनी देशको तेस्रो राष्ट्रपति हुनेछन् । उनीअघि फ्रान्सका दुई राष्ट्रपतिले मात्रै लगातार दोस्रो कार्यकाल जित्न सकेका थिए ।

म्याक्रोनले राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल जितिसकेपछि एफिल टावर मैदानमा समर्थकहरूलाई सम्बोधन गरेका छन् । उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिदै भनेका छन, तपाईंहरू सबैले आगामी पाँच वर्षको लागि ममाथि विश्वास गर्नुभएको छ । मलाई थाहा छ, म तपाईहरुको ऋणी बनेको छु ।

इतिहास रचेपछि म्याक्रोनले आफ्नी पत्नी ब्रिजिट र उनीहरूका छोराछोरीसँगै एफिल टावर नजिकै च्याम्प डे मार्समा सजाइएको मञ्चमा पुगेर राष्ट्रिय गान गाएका थिए ।

एजेन्सी