कैलालीको विपतपुर शिविरमा आगलागी; ७० भन्दा बढी घर जलेर नष्ट


लेखक : लेखापढी      ११ बैशाख २०७९, आईतवार २०:४९ मा प्रकाशित     
कैलालीको विपतपुर शिविरमा आगलागी; ७० भन्दा बढी घर जलेर नष्ट

कैलाली- कैलालीको कैलारी गाउँपालिका–७ को विपतपुर गाउँमा आइतवार अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ ।

धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको विपतपुर बस्तीका कच्ची घरमा भएको आगलागी नियन्त्रण गर्न दमकलसहित प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । उक्त गाउँमा मुक्त कमैया बस्ती रहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त गाउँमा ६० घर जलेर क्षति पुगेको भन्ने प्रारम्भिक जानकारी आएको जानकारी दिएका छन् । घटनाबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी छ । आगलागी भएको खबर पाएपछि भजनी प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलीले आगो नियन्त्रणको प्रयास गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी थापाले दुई वटा दमकलको सहायतामा प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा केही समयअघि मात्रै आगो नियन्त्रणमा आइसकेको जानकारी आएको बताए । घटनास्थलतर्फ गइरहेका प्रजिअ थापाले भने, ‘‘आगलागी पीडितको उद्धार र राहतको व्यवस्थापनको काम पनि तत्कालै सुरु गर्न लागेका छौँ ।’’- रासस ।