वैशाख १० गते । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठानकाे १२ औ वार्षिकाेत्सवका अवसरमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार –२०७८ बाट सम्मानित हुने सङ्गीत तथा नाट्य क्षेत्रका ६ जना स्रष्टा तथा कलाकारहरुको नामावली सार्वजनिक गरिएकाे छ ।
प्रज्ञा पुरस्कारबाट सम्मानीत हुने श्रष्टाहरूमा सङ्गीत विधामा वरिष्ठ सङ्गीतकर्मी मोहन कृष्ण कार्की ढली, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक विधामा वरिष्ठ नाटककार मन बहादुर मुखिया, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक अमर विरही गुरुङ, रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी ऋद्धि चरण श्रेष्ठ तथा शास्त्रीय तथा परम्परागत सङ्गीत विधामा वरिष्ठ जलतरङ्ग वादक मोहन प्रसाद जोशी रहेकाे प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले जानकारी गराए । उनले थपे, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार –२०७८ उपयुक्त समयमा सम्माननीय राष्ट्रपतिकाे समुपस्थितिमा वितरण गरिनेछ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिवार कार्यालय परिसरमा आफ्नो १२ औँ वार्षिकोत्सव एक समारोह आयोजना गरी मनाएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम २०६७ साल बैशाख १० गते स्थापना भएको प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापनाको १२ वर्ष पुरा गरेको हो ।
पुरस्कृत स्रटा सर्जकहरुको छनौट प्रक्रियाका बारेमा बोल्दै उहाँले पुरस्कारको लागि ६ वटा विभाग प्रमुखको संयोजनमा गठित नेपाल सङ्गीत तथा नाट्य नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार चयन समितिहरुबाट सिफारिस भएका स्रष्टा सर्जकहरुको नामहरुमा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माको अध्यक्षतामा गठित पुरस्कार संयोजन समितिमा छलफल गरी समितिबाट सिफारिस भएका नामहरुलाई प्राज्ञ परिषदले अन्तिम निर्णय गरी वार्षिकोत्सवको अवसर पारेर र्सावजनिक गरिएको बताएका छन् ।
प्राज्ञ परिषद सदस्य धीरेन्द्र प्रेमर्षिले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले बार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै तीन प्राज्ञ प्रतिष्ठानहरु तीन मुटु र एक धड्कन भएको बताएका छन। त्यस्तै प्राज्ञ सभा सदस्य हरि बहादुर थापा र प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष हिलारी बन्धु भुजेलले आफ्ना भनाई राखेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति नारायणभक्त श्रेष्ठले आफूहरु सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अरु प्राज्ञ प्रतिष्ठानभन्दा पूर्वाधारको दृष्टिले कलिलो भएपनि यसलाई हर दृष्टिले सम्पन्न बनाउन लागि पर्ने बताउनु भयाे ।
कार्यक्रममा प्राज्ञ अशोक राई, शिशिर योगी तथा निलमाया पुनले साङ्गीतिक प्रस्तुति गरे भने प्राज्ञ धीरेन्द्र प्रेमर्षि, बाबा बस्नेत तथा कर्मचारी विजय श्रेष्ठले कविता वाचन गरेका थिए ।
सदस्य सचिव श्याम प्रकाश तमोटले सहजिकरण गर्नुभएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, प्राज्ञ सभा सदस्यहरु, नेपाल प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव जगत प्रसाद उपाध्याय, पुरस्कार संयोजन समितिका पदाधिकारीहरु, कर्मचारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।