सांसदसहित अमेरिकी सिनेटरको टोली आज साँझ काठमाडौं आइपुग्ने


लेखक : लेखापढी      ९ बैशाख २०७९, शुक्रबार १०:५८ मा प्रकाशित     
सांसदसहित अमेरिकी सिनेटरको टोली आज साँझ काठमाडौं आइपुग्ने

काठमाडौं। ४ जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली आज (शुक्रबार) साँझ काठमाडौं आइपुग्ने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स नेपाल आउँन लागेका हुन् ।

अमेरिकी सिनेटरको टोलीले शनिबारदेखि नेपालमा राजनीतिक भेटघाट गर्नेछ । यो सिनेटरको टोली नेपालसँगै पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्किएको हो । रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किएको बताइएको छ । भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सिनेटरको यो टोली आइतबार नेपालबाट फर्किने कार्यक्रम छ । नेपालले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेको छ । यसबारे राष्ट्रसंघमा भएका सबै मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ । रूसलाई मानव अधिकार परिषद्को सदस्यबाट निलम्बन गर्न भएको मतदानमा भने नेपाल तटस्थ बसेको थियो ।

केही दिनअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी उपसहायक विदेश मन्त्री केली केइडरलिङले पनि नेपाल भ्रमण गरेकी थिइन् ।

अमेरिकी सहयोग परियोजना एमसिसी पारित हुनुअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउँदा केली पनि सँगै आएकी थिइन् । उनले गत सोमबार परराष्ट्र मन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गरेकी थिइन् ।