काठमाडौं। भोलि (शुक्रबार)देखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो ।
कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै एसईई सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला-जिल्लामा पठाइसकेको पनि उनले जानकारी दिए ।
एईइईका लागि देशभर २ हजार ७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ जना र छात्रा २ लाख ५७ हजार ५३ जना गरी जम्मा ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी सहभागी हुने भएका छन् ।
दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारतर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ जना विद्यार्थी सहभागी हुँदैछन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी हुने भएका छन् ।