आजदेखि कृषि गणना सुरु, कृषकलाई २४ प्रश्न सोधिने


लेखक : लेखापढी      ६ बैशाख २०७९, मंगलवार ०७:२६ मा प्रकाशित     
आजदेखि कृषि गणना सुरु, कृषकलाई २४ प्रश्न सोधिने

काठमाडौं। आजदेखि देशभर कृषि गणना सुरु गर्न लागिएको छ ।देशका ७७ जिल्लामा ७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गर्न लागिएको हो ।

कृषि गणनाका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरिवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उप-महानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

वैशाख ६ देखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल ३ लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तरवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरिवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ ।

सातौँ कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपंक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपंक्षी पालन, खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् । राष्ट्रिय जनगणना सुरु भएको ६ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा बाँझो जमिनको समेत तथ्याङ्क सङ्कलन गरिने भएको छ ।