एउटा कलाकारले जात व्यवस्था मान्नु गलत कुरा हो : गायिका मेलिना राई


एउटा कलाकारले जात व्यवस्था मान्नु गलत कुरा हो : गायिका मेलिना राई

नेपाली गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका मेलिना राईले गत शुक्रबार गिटारिस्ट सञ्जिव बाइलीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरिन् । उनीहरूको अन्तरजातीय प्रेम सम्बन्ध विवाहमा परिणत हुँनेभएपछि बधाई , शुभकामना लगायत माया र प्रशंसा मात्र हैन, उनले गाली पनि उतिकै व्यहोरिरहेकी छिन् । यतिबेला सामाजिक सञ्जालमा उनलाई अन्तरजातीय प्रेम र बिवाहालाई स्वीकार नगर्ने जमातले उनिमाथि नकारात्मक टिकाटिप्पणी गरिरहेका छन् ।

जातीय विभेदलाई अस्वीकार गर्ने मेलिनाको परिवारलाई समस्या उनिहरुको प्रेम र बिवाहामा कुनै समस्या भएन । मेरो परिवारले सबै मानिसलाई जातको आँखाले हैन, समानताको आँखाले हेर्नुहुन्छ । उहाँहरूले हाम्रो सम्बन्ध सहजै स्वीकार गर्नुभयो । सञ्जिवको परिवारमा पनि कुनै कठिनाइ नभएको मेलिनाले विभिन्न सञ्चारमाध्याममा बताएकी छिन् । सञ्जिवको आमा पनि गुरुङ समुदायको हुनुहुन्छ । बाबा आमाकै अन्तरजातीय विवाह भएको हुँदा हामीलाई खुसीसाथ स्वीकार गर्नुभयो मेलिनाले भनेकी छिन् ।

आफ्नो जीवन साथीको छनोट गर्नु आफ्नो अधिकार रहेको उनको तर्क छ । सामाजिक सञ्जालमा धेरै गाली गर्ने राई समुदायका नै भएकोले आफ्नो मन साह्रै दु:खेको उनले बताएकी छिन् । म जात व्यवस्थालाई मान्दिन, एउटा कलाकारले जात व्यवस्था मान्नु गलत कुरा हो । जात भन्दा मानिसको व्यवहार ठूलो कुरा हो । मलाई सञ्जिवको व्यवहार मन परेर नै उहाँसँग जीवन बिताउने निर्णय लिएकि हुँ । कसैलाई नि:स्वार्थ माया गरेर मैले गल्ति गरेको भए चित्त दुखाउने राई समुदायका दाजुभाइ तथा दिदीबहिनीहरु मलाई माफी दिनुहोला ।

नेपाली समाजमा जात व्यवस्थाले एकदमै नराम्रो असर पारिरहेको छ । मानिसलाई ठूलो र सानो भनेर मानिसले नै बनाएको हो । हाम्रा पुर्खाले जे गलत गरे, त्यसलाई सुधार्ने हामीले नै हो । मानिसलाई ठूलो सानो बनाउने इतिहास बन्नु नै गलत थियो । मानिस कोही पनि दुनियाँमा अमर रहँदैन । एक दिन मरेर जान्छ । आफ्नो समुदायलाई हाइहाइ गरेर अर्को समुदायमाथि विभेद गर्नु मानवताविपरीतको कार्य हो ।

म किराँती समुदायको हुँ, मैले अन्तरजातीय विवाह गरे पनि मसँग किराँत सभ्यता छ, किराँती संस्कृतिका राम्रा कुरा छन् । किराँतप्रति मेरो सदैव सम्मान रहन्छ । त्यो भन्दैमा मैले जात व्यवस्थालाई मलजल गर्न मिल्दैन । यदि हामी किराँत भएर त्यस्तो गर्यौं भने हाम्रो संस्कृतिमाथि नै प्रश्न उठ्नेछ । त्यसकारण मैले जीवनको यात्रामा जसलाई छनोट गरेको छु, असल व्यक्ति नै छानेको छु । यसमा म धेरै खुसी समेत छु ।