म राप्रपामा प्रवेश गरेपछि धेरै मान्छेको निद हराम भएको छः ज्वाला संग्रौला


लेखक : लेखापढी      ३ बैशाख २०७९, शनिबार २०:३२ मा प्रकाशित     
म राप्रपामा प्रवेश गरेपछि धेरै मान्छेको निद हराम भएको छः ज्वाला संग्रौला

काठमाडौं। आफुलाई सामाजिक अभियान्ता भनि चिनाउने ज्वाला संग्रौला राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेपछि धेरैको निदहराम भएको प्रतिकृया दिएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिकृया दिएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले भनेकी छिन्, ‘म राप्रपामा प्रवेश गरेपछि धेरै मान्छेहरुको निदहराम भएको छ । म न कुनै पदको लोभले पार्टीमा प्रवेश गर्या हुँ, न त कसैको झोले बन्न नै । म त केवल एक असल राष्ट्रबादी नेता जसलाई ३० वर्षपछि यो देशले अवसरको रुपमा पाएको छ, वहॅालाई मुलुक परिवर्तनको यस यात्रामा सपोर्ट गर्न आएकी हुँ । ज-जसले मलाई आज आलोचना गरेका छन्, तिनीहरु सबै मेरै वरिपरिकै मान्छे हुन् र यो उनीहरु भित्रको डर बोलिरहेको हो । म राप्रपामा छिर्दैमा आकास खस्ने नि हैन धर्ती पल्टिने नि हैन । तसर्थ यतिसारो आतिनु पर्ने केहि छैन ।’

उनले अगाडी लेखेकिछिन्, ‘हिजोका दिनमा पनि म निस्वार्थ रुपले आफूले समाजमा सकेको योगदान दिदै आएकी मान्छे हुँ र भोलिका दिनमा पनि गर्दै जाने छु । मान्छे मारेका, बलात्कार गरेर फरार भएका र गुण्डा बनेर अरुलाई लुटेर खाएकाहरु राजनीतिमा आउन हुने तर समाजको लागि केहि राम्रो काम गरेकाहरु चाहि राजनीतिमा आउन नहुने भन्ने मान्यता नै गलत छ । फटाहा काम गरेर आएको मान्छे राजनीतिमा पनि फटाहा नै हुन्छ र असल काम गरेर आएको असल नै हुन्छ । हजारौका छोराछोरीको जीबन चुंडेकाहरु र हजारौंका घर बमले उडाएकाहरु आज देशको मालिक भएर देश लुटिरहेका छन्, मनपरि गरिरहेका छन्, तिनीहरुलाई गर्नुस् न गाली नै गर्ने भए । मैले कस्को के बिगारेको छु र मेरो पछि लाग्नु पर्ने ?’

मैले बारबार भनेकी छु, नेतृत्व सहि भयो भने जुनसुकै ब्यबस्था पनि सफल हुन्छ । नेतृत्व गलत भयो भने ब्यबस्था जति राम्रो भए पनि परिवर्तन हुदैन, अस्तब्यस्त हुन्छ, हाहाकार हुन्छ, जुन अहिले देशमा भैरहेको छ । तसर्थ यो ब्यबस्थाका नक्कली ठेकेदारहरुबाट देशलाई निकाश दिन मैले असल नेताको नेतृत्व खोजेको हो र त्यो असल नेता राजेन्द्र लिङदेनलाई मैले गरेको सपोर्ट एकइन्च खेर जान दिने छैन । सकेसम्म राम्रै गर्ने कोशिस गर्ने छु । र आज जस्ले मेरो आलोचना गरिरहेका छन्, तिनीहरुलाई दुख परेको खण्डमा सबैभन्दा पहिला सहयोग गर्न पाईयोस् ।