बिस्केट जात्रामा विश्वध्वजासहितको ५५ हात लामो लिंगो आज पनि उठाउने प्रयास


बिस्केट जात्रामा विश्वध्वजासहितको ५५ हात लामो लिंगो आज पनि उठाउने प्रयास

भक्तपुर । प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिंगो आज बिहानसम्म पनि उठेको छैन ।

चैत मसान्तका दिन नै उठाउनुपर्ने लिंगो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पुर्‍याइएपछि स्थानीयले बुधबार साँझबाट नै उठाउने अथक प्रयास गरिए पनि लिंगो आज बिहानसम्म पनि उठाउन नसकिएको बाबुरत्न द्यौलाले जानकारी दिए ।

लिंगो तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी मसान्तको दिन नै उठाउने प्रचलन छ । लिंगोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले वरिपरिबाट तानेर उक्त लिंगो उठाउने प्रचलन रहेको छ । त्यही आठ डोरीले आठ कुनामा बसेर लिंगो उठाउने गरिन्छ ।

यस वर्ष गुठी संस्थानले कमसल डोरी ल्याएपछि चार डोरी चुँडिएको र चार डोरीको भरमा लिंगो उठाउन खोज्दा नसकेपछि आज बिहानलाई छाडिएको जात्रा सञ्चालन गर्ने गुठीको गुनासो छ ।

लिंगोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजा समेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथयात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । आज बिहानैदेखि लिंगो उठाउने ठाउँमा पूजा तथा दर्शन गर्नेको भिड लागेको छ । दर्शन गर्नेको भिड नसकिएसम्म लिंगो उठाइँदैन । भिड कम भएपछि लिंगो उठाइने बताइएको छ ।

आज दिनभरि ल्यासिङ्खेलमा लिंगो जात्रा हेर्न आउनेको भिड लाग्ने गर्दछ । दिउँसो उपत्यकाका विभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको भिड लाग्ने गर्दछ । आज बिहान हनुमानघाटस्थित चुपनघाटमा स्नान गर्नेको भिड लागेको छ । चुपिन घाटमा स्नान गर्ने, मुख धोएर ल्याङ्खिेलमा लिंगो उठाउने ठाउँमा गएर पूजा तथा दर्शन गरे पुण्य प्राप्त हुने मान्यताअनुसार दर्शन तथा पूजा गर्नेको भिड लागेको हो ।

बिस्केट जात्राका अवसरमा बुधबार बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले हात नभएको लिंगो उठाएका छन् । त्यस्तै, मध्यपुरथिमिको महालक्ष्मी मन्दिरअगाडि पनि थिमिका बासिन्दाले बुधबार नै लिंगो उठाएका छन् । यहाँ लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ । –रासस