आइपिएल : चेन्नई सुपर किंग्सले पहिलो जित निकाल्यो


लेखक : लेखापढी      ३० चैत्र २०७८, बुधबार ०६:५९ मा प्रकाशित     
आइपिएल : चेन्नई सुपर किंग्सले पहिलो जित निकाल्यो

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी संस्करणमा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ । मंगलबार डिवाई पटिलमा भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रनको उच्च स्कोर तयार गरेको थियो । जवाफमा बैंग्लोर १ सय ९३ रनमा समेटियो ।

चेन्नईका लागि सिभम दुबेले विष्फोटक इनिङ खेल्दै टिमको उच्च स्कोरमा सानदार योगदान गरेका थिए । दुबेले ४६ बलमा ९५ रन बनाउँदा रोविन उथप्पाले ८८ रनको योगदान दिए । उथप्पाले दुबेसँग तेस्रो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै‚ थप दोहोरो स्कोरका रुपमा ऋतुराज गाइकवाडको १७ रन रह्यो ।

२ सय १७ रनको विशाल स्कोर पछ्याएको बैंग्लोरले राम्रो प्रदर्शन गरे पनि लक्ष्य पूरा गर्न असफल भयो । कुनै खेलाडीले अर्धशतक पूरा नगरे पनि मध्यक्रम समालिंदा चेन्नईलाई दबाब दिन सफल भएको थियो । उसका लागि सहबाज अहमेदले सर्वाधिक ४१ रन बनाए । त्यस्तै‚ शुस्य प्रभुदेशी र दिनेश कार्थिकले समान ३४/३४ रन बनाउँदा ग्लेन म्याक्सवेलले १२ तथा मोहमद्द सिराजले १४ रन जोडेका थिए ।