महेन्द्रनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले भीमदत्तनगरमा प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगाे लगाएको हो।
सोमबार एक कार्यक्रम गर्दै राप्रपाले प्रमुखमा गजेन्द्रबहादुर चन्द र उपप्रमुखमा हेलेन सिंह श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो। चन्द कञ्चनपुरका पार्टी अध्यक्ष र श्रेष्ठ महिला संगठन जिल्ला अध्यक्ष हुन्। प्रमुख र उपप्रमुखको उम्मेदवारी घोषणासँगै पार्टीले नगरमा घरदैलो समेत गरेको छ।
राप्रपा भीमदत्त नगरका अध्यक्ष करनबहादुर पालले भने ‘अहिले प्रमुख र उपप्रमुखको मात्रै उम्मेदवार तय भएको छ,’ ‘वडाबाट सिफारिस भई आउने क्रम जारी छ।’ ०७४ को निर्वाचनमा चन्द राप्रपाकै तर्फबाट मेयरको उम्मेदवार थिए। चन्द चार हजार तीन सय २८ मत ल्याएर पराजित भएका थिए।
राप्रपा महिला नेतृ एवं महिला अगुवा समेत रहेकी श्रेष्ठले पार्टीले दिएको जिम्मेदवारी निर्वाह गर्दै चुनावी एजेन्डा लिएर जनतामाझ जाने बताइन्। दुवै उम्मेदवारले ‘सुन्दर शान्त हराभराका साथै भ्रष्टाचारमुक्त महेन्द्रनगर’ बनाउने घोषणा गरेका छन्। उम्मेदवारी घोषणा तथा घरदैलो अभियान कार्यक्रममा राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीले राप्रपाको पक्षमा जनलहर बढेको बताउँदै चुनावी एजेन्डा लिएर जान आह्वान गरेका थिए। राप्रपामा देशभर जनमत वृद्धि भएको र जित्ने दाबी गरेका छन।