विप्लब नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए चुनाव सार्न सकिन्छ : नेपाल


लेखक : लेखापढी      २८ चैत्र २०७८, सोमबार २०:४५ मा प्रकाशित     
विप्लब नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए चुनाव सार्न सकिन्छ : नेपाल

पर्वत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको पार्टी निर्वाचनमा सहभागी हुने भए वैशाख ३० को स्थानीय निर्वाचन सार्न सकिने बताएका छन् ।अध्यक्ष नेपाल कार्यकर्ता प्रशिक्षणका लागि सोमबार पर्वत आएका हुन्, उहाँले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु मुलुककै लागि फाइदाजनक भएको दाबी गरे ।

‘ओली सरकारले संविधान खान खोज्यो, लोकतन्त्र सिध्याउन खोज्यो, संघीयता मास्न खोज्यो र सुशासनलाई समाप्त गरेर कुशासनमा देशलाई चुर्लुम्म डुबाउन खोजेका कारणले गठबन्धन आवश्यक परेको हो,’ उनले भने, ‘अहिले अर्थतन्त्र जुन अवस्थामा पुगेको छ । त्यो ओली नेतृत्वको सरकारका कारणले हो ।’ चुनावी गठबन्धन गर्दा आफूहरूले अघिल्लो निर्वाचनमा एमालेले जितेका ठाउँ मागेको उनले बताए ।

चुनावको मिति सार्ने हल्लाको जिज्ञासामा उनले भने, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’

संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ गठबन्धन सरकार जन्मिएको बताउँदै नेता नेपालले आगामी संसदीय निर्वाचनपछि बन्ने सरकारसमेत गठबन्धनकै हुने जिकिर गरे ।