चुनावी खर्चबारे शशांक कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ


लेखक : लेखापढी      २८ चैत्र २०७८, सोमबार १७:१८ मा प्रकाशित     
चुनावी खर्चबारे शशांक कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ

निर्वाचन आयोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग जवाफ मागेको छ । उनले ‘२०७४ सालको संघीय संसद्को चुनावमा ६ करोड खर्च भयो’ भन्ने अभिव्यक्ति दिएका थिए ।

नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा नेता शशांक कोइरालाले विगतमाभन्दा चुनाव निकै खर्चिलो भएको बताएका थिए । उनले अब चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था रहेको बताएका थिए । 

निर्वाचन आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनु भएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के कसो भएको हो । सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ ।’

आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।