काठमाडौँ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी स्थानीय तह निर्वाचनमा एमसीसीको विरोध गर्दै आएको छ । विप्लबले एक परिपत्र जारि गर्दै एमसीसीको विरोध गर्नेहरूलाई सहयोग गर्ने भएको छ ।
नेकपाको १२ औँ पूर्ण बैठकले निर्वाचन आयोगमा पार्टी दर्ता गरेर स्थानीय तह चुनावलाई उपयोग नगर्ने तर ‘एमसीसी र राष्ट्रघातको विरोध गर्ने’हरूलाई सहयोग गर्ने निर्णय गरेको छ ।
महासचिव चन्दले मातहतका कमिटीलाई पठाएको परिपत्रमा लेखिएको छ, ‘आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर, एमसीसी एवं राष्ट्रघात विरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने । संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिइएको छ ।’
स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्नेमा नेकपामा दुई धार थियो । महासचिव चन्द र खड्गप्रसाद विश्वकर्माहरूले चुनावमा सहभागी हुने लाइन लिएका थिए भने अरु नेताहरूले कुनै पनि हालतमा स्थानीय तह निर्वाचनमा भाग नलिने भनाइ बैठकमा राखेको सार्वजनिक भएको थियो । बैठक लगत्तै विश्वकर्मालगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए । चुनावमा सहभागी हुनका लागि दल दर्ता गर्नुपर्ने र त्यो समय अहिले उपलब्ध हुने अवस्था नरहेपछि नेकपाले अरु दलका उम्मेदवारलाई सघाउने निर्णय गरेको बुझिएको छ ।
चन्दको पार्टीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सांस्कृतिक जागरण अभियान चलाउने निर्णय पनि गरेको छ । ‘सांस्कृतिक अभियानलाई जागरण र स्थानीय चुनावमा केन्द्रीत गरी संचालन गर्ने’ निर्णय उक्त पार्टीको छ ।
‘एमसीसीले अधिग्रहण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने । त्यसका निम्ती सम्बन्धित जिल्लाहरूले व्यापक तयारी गर्ने,’ परिपत्रमा उल्लेख छ । संसद्बाट एमसीसी पारित भएको विषयमा नेकपाले विरोध गर्दै आइरहेको छ । एमसीसीको विरोध गर्दै आएको चन्द नेतृत्वको नेकपाले परियोजना रोक्न प्रयास गर्ने निर्णय लिएको छ । त्यसका लागि जमिन अधिग्रहण गर्न नदिने निर्णयमा उल्लेख छ ।
परिपत्रको पूर्णपाठः
https://drive.google.com/file/d/1woYEmEh3zv1gDLr_BJLvgNbDpE5UuDEH/view?usp=sharing