काठमाडौं। नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डाक्टर निलम ढुङ्गाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छिन् । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कामु गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् ।
उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको कायममुकायम गभर्नर ढुङ्गानाले दाबी गरिन् ।
उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन् । नेपालको गरिबी निवारण तथा वित्तीय पँहुचभन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरू प्रभावकारी साधन भएको उल्लेख गरिन् ।
उनले भनिन्, समावेशी आर्थिक विकासका लागि भएका नेपालका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसख्याको १८ प्रतिशत हिसा अझै पनि गरिवीको रेखामुनि रहेको छ । अझै पनि २० प्रतिशत जनसंख्याको हिसा औपचारिक वित्तीय पँहुचभन्दा बाहिर रहेको स्थितिमा लघुवित वित्तीय संस्थाहरुले गरिबी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ। सधैभरी सहज परिस्थिति हुँदैन। व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।
कामु गभर्नर ढुङ्गानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिसा गरिवीको रेखामुनि रहेको बताइन् । उनले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तीकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।