काठमाडौं। नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सुरु भएको छ । छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी भुवन खत्रीले आइतबार तालिमको शुभारम्भ गरेका हुन् ।
सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ अभ्यास हुने गरेको छ । अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
हालसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । उनका अनुसार रेञ्जर फौजका करिब ४ हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।
प्रवक्ता सिलवालले भने, यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेञ्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० गरि जम्मा १ सय १० सैनिकहरु तालिममा सहभागी छन् ।
तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।