पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिरूद्ध संसदमा अविश्वासको प्रस्तावमाथि आज मतदान


पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिरूद्ध संसदमा अविश्वासको प्रस्तावमाथि आज मतदान

एजेन्सी- पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुँदैछ। 

उनीविरूद्ध  ल्याइएको अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्री खान पदमुक्त हुनेछन्। 

पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो। गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए। त्यस्तै पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए । 

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छन्। बुधबार सत्तारूढ मुत्ताहिद्दा क्वामी मुभमेन्ट-पाकिस्तानले विपक्षीलाई साथ दिने निर्णय गरेपछि अब सत्तारूढ गठबन्धनसँग १६४ सांसदमात्रै बाँकी रहेका छन्।

विपक्षीहरूसँग १७७ सांसद पुगेका छन्। खानको आफ्नै पार्टीभित्र पनि विवाद छ। उनलाई समर्थन नगर्ने सांसदको संख्या २५ देखि ४० जना रहेको बताइन्छ।

पूर्वक्रिकेटर खान प्रधानमन्त्री भएको चार वर्ष भएको छ। उनीविरूद्ध यसअघि पनि अविश्वासको प्रस्ताव आएको थियो। त्यतिबेला उनले सत्ता जोगाएका थिए। प्रधानमन्त्री खानले यस पटक पनि आफू पदबाट राजीनामा नदिने बरू‘अन्तिम बलसम्म’ संघर्ष गरिरहने बताएका छन्।

उनले आफूलाई हटाउन देशबाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकलाई सडकमा आउन अपील गर्दै आएका छन् । 

पाकिस्तानमा आम चुनाव आउन अझै डेढ वर्ष बाँकी छ। अहिलेसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले पूर्ण कार्यकाल पूरा गरेका छैनन्। 

खान पदमुक्त भएमा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ अर्को प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । 

आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि खानले शनिबार आफ्ना समर्थकहरुलाई सडकमा उत्रन आह्वान गरेका थिए। खानमाथि देशमा आर्थिक संकट निम्त्याएको विपक्षीले आरोप लगाउँदै आएका छन्।