काठमाडौं। नेपाल औषधि व्यवसायी संघले वैशाख १ गतेदेखि औषधि आयात रोक्ने घोषणा गरेको छ । सरकारले आफ्ना माग पूरा नगरे वैशाख १ गतेदेखि औषधि आयात रोक्ने घोषणा गरेको हो ।
औषधि व्यवसायी संघले २७ फागुनमा औषधि व्यवस्था विभागलाई आफ्ना मागपत्र बुझाएको तर विभागले व्यवसायीका मागलाई बेवास्ता गरेकै कारण औषधि आयात ठप्प पार्ने निर्णय गरेको बताएको छ ।
औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले व्यवसायीका मागलाई औषधि व्यवस्था विभागले बेवास्ता गर्दै आएको हुँदा औषधि आयात नगर्ने निर्णय गरेको बताए । हामीले गतवर्ष १४ माघमै २५ बुँदे माग पेश गरेका थियौं, त्यसयता सरकारका सबै निकायको ध्यानाकर्षण गरायौं । आफ्ना मागबारे जानकारी गरायौं तर सुनुवाई भएन अब यो महिनाभित्र पनि माग पूरा नभए वैशाख १ गतेबाट हामीले औषधि आयात ठप्प पार्ने निर्णय गरेका हौं, उनले भने ।
श्रेष्ठले आयातित औषधिमा कन्ट्री अफ ओरिजिनअनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा औषधि बिक्री वितरण गर्न पाउनुपर्ने मुख्य माग भएकोसमेत बताए । उनले सरकारले तोकेको मूल्य तोकेका औषधिबाहेकका औषधिमा त्यही देशको मूल्यअनुसार बेचबिखन गर्न पाउनुपर्ने माग रहेको बताए ।
उनले औषधि व्यवस्था विभागले नवीकरण गर्दा २०१४ अनुसार गर्नुपरेको गुनासो गर्दै २०२२ मा आइपुग्दा पनि त्यही पुरानो नियममा नवीकरण गर्नुपरेको गुनासो गरे । नेपालमा प्रयोग हुने करीब ५५ प्रतिशत औषधि आयात हुन्छन् । त्यसमा जीवनरक्षक, आईसीयूमा प्रयोग हुने औषधि धेरै रहनेसमेत उनले बताए।