ट्राफिक प्रहरीलाई डायरी र कलम अनिवार्य


लेखक : लेखापढी      १७ चैत्र २०७८, बिहीबार २१:२० मा प्रकाशित     
ट्राफिक प्रहरीलाई डायरी र कलम अनिवार्य

काठमाडौं। काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ड्युटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने भएको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि ड्युटीमा खटिदाँ हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने, तत्काल भुल्न सक्ने भएकोले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित र उत्तरदायि अभिलेखिकरण गर्ने उद्देश्यले सो व्यवस्था लागु गरिएको हो ।

यसै परिप्रेक्षमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले एक कार्यक्रमकाबीच काठमाडौं उपत्यकामा कार्यरत झन्डै १ हजार ६ सय ट्राफिक प्रहरीहरूलाई डायरी तथा कलम वितरण गरेका थिए ।

ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सो सामाग्री वितरण गरिएको एसएसपी जोशीले बताए । ड्युटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्न ईत्यादी प्रयोजनको लागि डायरी र कलम दिएको पनि उनले जानकारी दिए ।

सोही कार्यक्रममा आजदेखि ड्युटी समयमा सम्पूर्ण ट्राफिक प्रहरीले अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने निर्देशनसमेत उनले दिए । कार्यक्रममा महाशाखामा कार्यरत ट्राफिक प्रहरी अधिकृतहरू तथा मातहतका सम्पूर्ण ईन्चार्जहरूको उपस्थिति रहेको थियो ।