विप्लव नेकपा चुनावमा प्रत्यक्ष सहभागी नहुने, बहिस्कार पनि नगरि मध्यमार्गी बाटो जाने


विप्लव नेकपा चुनावमा प्रत्यक्ष सहभागी नहुने, बहिस्कार पनि नगरि मध्यमार्गी बाटो जाने

काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफैं प्रत्यक्ष चुनावमा सहभागी नहुने भएको छ । गत ४ चैतदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकले महासचिव विप्लवको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने मतसहितको प्रतिवेदनलाई पारित गर्दै यस्तो निर्णय गरेको हो ।

नेता धर्मेन्द्र वास्तोलाका अनुसार पार्टी चुनावमा जाने छैन, तर बहिस्कार पनि गर्ने छैन् । ‘बैठक भोलि सकिन्छ,’ उनले भने, ‘आज महासचिवले प्रस्तुत गर्नु भएको दस्तावेज परिमार्जनसहित पास भयो । परिमार्जन भएको भनेको पार्टी दर्ता गरेर स्थानीय चुनावमा नजाने, किनभने हामी सत्ताकै प्रतिद्वन्द्वी हौं । तर, फेरि हामी चुनाव विरोधी पनि होइन नभएकाले स्थानीय स्तरमा देशभक्त, एमसीसी विरोधी, क्रान्तिकारी, भ्रष्टचार विरोधी उम्मेदवारहरुलाई सर्मथन गर्ने ।’

नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा उभिएका थिए । बहुमत सदस्य प्रस्तावका विपक्षमा उभिएपछि विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्माले विपक्षमा उभिएकाहरुलाई शुक्रबार र शनिबार दिनभर पक्षमा ल्याउन मनाउने कोसिस गरेका थिए। तर, त्यो कोसिस सफल नभएपछि मध्यमार्गी बाटो रोजिएको हो।